शिक्षाकागजी घोषणाको उत्सव कि बालबालिकाको भविष्यमाथि खेलबाड?

कागजी घोषणाको उत्सव कि बालबालिकाको भविष्यमाथि खेलबाड?


निश्चल तामाङ
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले बालबालिकाको हक अधिकारलाई प्राथमिकतामा राखेको छ। यसै अनुरूप देशका विभिन्न वडाहरूलाई ‘बालमैत्री वडा’ घोषणा गर्ने लहर चलेको छ। यसै सन्दर्भमा, भोलि नमोबुद्ध नगरपालिकाको वडा नम्बर ११ लाई पनि ‘बालमैत्री वडा’ घोषणा गर्ने तयारी भइरहेको बुझिएको छ। सुन्दा सुमधुर लाग्ने यो घोषणाको भित्री ऐना भने अत्यन्तै धमिलो र कारुणिक छ।
सूचक कि केवल सरकारी औपचारिकता?
नेपाल सरकारको ‘बालमैत्री स्थानीय शासन’ रणनीतिले ५१ वटा कडा सूचकहरू तय गरेको छ। तर नमोबुद्ध-११ को वस्तुस्थिति हेर्दा प्रश्न उठ्छ— के ती सूचकहरू केवल सरकारी फाइलमा मात्र सीमित छन्?
१. शिक्षाको नाममा सास्ती:
बालमैत्री हुनका लागि बालबालिकाको विद्यालय पहुँच सहज हुनुपर्छ। तर यस वडाका बालबालिका आज पनि माध्यमिक शिक्षाका लागि अर्को वडा धाउन बाध्य छन्। प्राथमिक शिक्षा लिनका लागि पनि भौगोलिक विकटताका कारण घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ। विद्यालय जाने बाटोमा न सार्वजनिक यातायातको व्यवस्था छ, न त हिँड्ने बाटो नै सुरक्षित छ। के घण्टौँ पैदल हिँडेर थाकेको शरीरले प्रभावकारी शिक्षा लिन सक्छ?
२. खेलकुद र प्रविधि: आकाशको फल:
आजको युगमा बालबालिकालाई प्राविधिक शिक्षा र खेलकुदको अपरिहार्यता छ। तर यस वडामा न त व्यवस्थित खेलमैदान छ, न त आधुनिक प्रविधिसम्म बालबालिकाको पहुँच। बालबालिकाका लागि ‘प्राविधिक शिक्षा’ र ‘खेलकुद’ कुन चराको नाम हो भन्ने जस्तै भएको छ। जुन वडामा बालबालिकाको शारीरिक र मानसिक विकासका लागि न्यूनतम पूर्वाधार छैन, त्यसलाई कुन आधारमा बालमैत्री मान्ने?
३. कलिला काँधमा खानेपानीको भारी:
बालमैत्री वडामा बालबालिकाले श्रम होइन, शिक्षा र खेलमा समय बिताउनुपर्छ। तर विडम्बना, यस वडाका बालबालिका आज पनि डोकोमा पानीका गाग्री बोकेर परिवारको प्यास मेटाउन संघर्ष गरिरहेका छन्। बिहान-बेलुका पानी बोक्नमै समय खर्चिनुपर्ने बालबालिकाको हकलाई यो घोषणाले कसरी सम्बोधन गर्छ?
प्रशासन र सरकारको ध्यानाकर्षण:
कागजी प्रक्रिया पुर्‍याएर र तामझामका साथ बोर्ड झुण्ड्याउँदैमा वडा बालमैत्री हुँदैन। भौतिक पूर्वाधारको अभाव, भौगोलिक विकटता र आधारभूत सुविधाबाट वञ्चित बालबालिकाको आँसु लुकाएर गरिने यस्ता घोषणाले स्थानीय सरकारको विश्वसनीयतामाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको छ।
अतः वडा कार्यालय, नमोबुद्ध नगरपालिका र संघीय सरकारको समेत म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु— घोषणाको उत्सव मनाउनुअघि बालबालिकाको पैतालाका ठेला र गाग्री बोकेर थाकेका काँधहरूलाई हेरियोस्। घोषणा केवल तथ्याङ्कमा होइन, बालबालिकाको मुस्कान र उनीहरूको सहज जीवनयापनमा देखिनुपर्छ।
यदि वास्तविक पूर्वाधार र सूचकहरू पूरा नगरी घोषणा गरिन्छ भने, त्यो बालबालिकाको भविष्यमाथिको भद्दा मजाक र राज्यकोषको दुरुपयोग मात्र हुनेछ।

निश्चल तामाङ

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्