काठमाडौं। नेपाली गीतसंगीत आकाशको एक चम्किलो तारा लोक तथा सेलो गायिका स्व.इन्दिरा गोलेको सम्झनामा शुक्रबार काठमाडौ पिपलबोट स्थित सेकुवा जक्शनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
पांच हजार भन्दा धेरै संख्यामा गीत गाईसकेकी गोले लामो समयदेखि क्यान्सर जस्तो प्रण घातक रोगसंग लड्दै आएका थिए । भाद्र १८ गते, ५९ वर्षको उमेरमा भएको गोलेको असामयिक निधनले सिङ्गो नेपाली सांगीतिक क्षेत्रलाई नै ठूलो क्षति पुर्याएको भन्दै श्रद्धाञ्जली सभामा सहभागीहरूले गहिरो शोक प्रकट गरेका थिए।
सेकुवा जक्सन बौद्धको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा श्रदेय धर्मगुरु टुल्कु साङ्गे शेढुव तेन्जिन रिम्पोर्छे प्रमुख आतिथ्यता रहेको थियो। सभामा विशेष धार्मिक विधिअनुसार म्हाने मोलम प्रार्थना गर्दै दिवंगत आत्माको शान्तिको कामना गरिएको थियो। कार्यक्रममा करिब आधा दर्जन धर्मगुरुहरू-डा. खेन्पो ङिमा दोर्जे, खेन्पो ङवाङ थप्के लगायत सहित करिब ५० जना लामा गुरुहरूको उपस्थिति रहेको थियो। साथै, वरिष्ठ गायक रोज मोक्तान, चर्चित गायक तथा संगीतकार सुसन लामा लगायत अन्य कलाकार तथा सरोकारवालाहरूको सहभागिताले वातावरण झनै भावुक बनेको थियो।
स्व. गोलेको जन्म वि.सं. २०२३ सालमा ललितपुरको वारदेउमा, बुबा जितबहादुर गोले र आमा कान्छीमाया तामाङको कोखमा भएको हो। संगीतमा गहिरो लगाव राख्दै उहाँले वि.सं. २०४५ सालमा रेडियो नेपालको स्वर–परीक्षण सफल पार्दै औपचारिक सांगीतिक यात्रा सुरु गर्नुभयो।
करीब तीन दशकभन्दा लामो सांगीतिक यात्रामा, उहाँले पाँच हजारभन्दा बढी गीतमा स्वर दिनुभयो। तामाङ सेलो, मौलिक धुन र नेपाली लोकगीतलाई आधुनिक रूप दिँदै उहाँले आफ्नो अमूल्य योगदान दिनुभयो। सहकर्मी कलाकारहरूको भनाइमा गोले केवल गायिका मात्र नभई तामाङ संगीतकी मार्गदर्शक र प्रेरणादायी व्यक्तित्व पनि थिइन्। श्रद्धाञ्जली सभाको सभापतित्व युवा व्यवसायी तथा सेकुवा जक्सनका सञ्चालक सुर्वण लामाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पत्रकार सुदिन लाम दोङले गर्नुभएको थियो।
संगीतप्रेमीहरूका अनुसार, उहाँको निधनले ठूलो शून्यता सिर्जना भए पनि उहाँले छाडेर गएको स्वर, सन्देश र प्रेरणा भने सधैं जीवित रहनेछ।