17.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य अनुसन्धान केन्द्र

नमोबुद्धमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य अनुसन्धान केन्द्र

१३ पौष २०७८,
काठमाडौ
। काभ्रेको नमोबुद्ध नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य अनुसन्धान केन्द्रको स्थापना हुने भएको छ । नगपालिक स्थित वडा नं.११ मा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने निश्चित भएको छ ।

सोमबार नमोबुद्ध नगरपालिका र धुलिखेल अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएसंगै अनुसन्धान केन्द्र निर्माणको काम सुरु हुनेछ । उक्त केन्द्रले नेपाल तथा अन्तर्राष्ट्रियस्तरका अनुसन्धानहरुको नेतृत्व लिनेछ भने नेपालसहित विश्वभरका विशेषज्ञहरु यसमा संलग्न हुनेछन् । स्वास्थ्य अनुसन्धानमा आधारित स्नातकोत्तर तथा पिएचडी कार्यक्रमको लागि यो अगुवा केन्द्रको रुपमा विकास हुने बताइएको छ ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजुले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा नमोबुद्ध नगरपालिका वडा नम्बर ११ मा रहेको कित्ता नम्बर ६२२ र ७३२ को जग्गामा धुलिखेल अस्पतालको अनुसन्धान केन्द्र स्थापना गर्ने उल्लेख छ । उक्त जग्गाको भोगाधिकार प्राप्तिका लागि नेपाल सरकारको प्रचलित कानुन बमोजिम पूरा गर्नु पर्ने प्रकृयाका लागि धुलिखेल अस्पतालले पहल गर्ने तथा सोको सहजीकरण नमोबुद्ध नगरपालिकाले गर्ने, उक्त जग्गाको स्वामित्व नेपाल सरकारको नाममा नै रहने र धुलिखेल अस्पतालले अनुसन्धान केन्द्र स्थापना गरी स्वास्थ्य, शिक्षा र अनुसन्धान सम्बन्धी सार्वजनिक कार्यका लागि मात्र उपयोग गर्न पाउने उल्लेख छ । यस्तै उक्त जग्गामा धुलिखेल अस्पतालले स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गरी स्वास्थ्य, शिक्षा र अनुसन्धान सम्बन्धी सार्वजनिक कार्यका लागि आवश्यक पर्ने भवन तथा पूर्वाधार निर्माणका लागि नमोबुद्ध नगरपालिकाको कुनै पनि आर्थिक दायित्व नरहने तर उक्त पूर्वाधार संरक्षणको जिम्मेवारी बहन गर्ने, उक्त जग्गामा धुलिखेल अस्पतालले स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गरी स्वास्थ्य, शिक्षा र अनुसन्धान सम्बन्धी सार्वजनिक कार्यका लागि आवश्यक पर्ने भवन तथा पूर्वाधार निर्माणका लागि आवश्यक सम्पूर्ण श्रोत साधनको व्यवस्था गर्ने र सिर्जना हुने रोजगारीमा नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का बासीहरुलाई प्राथमिकतामा राखिने समझदारी भएको छ ।

यस्तै धुलिखेल अस्पतालले अनुसन्धान केन्द्र स्थापना गरी स्वास्थ्य, शिक्षा र अनुसन्धान सम्बन्धी सार्वजनिक कार्य सुचारु गरे पश्चात सम्बन्धित वडा कार्यालयसँग समन्वय र सहकार्य गरी शैक्षिक, स्वास्थ्य र अनुसन्धान लगायतका कृयाकलापमा सहभागी हुन प्राथमिकतामा राख्ने लगायतका विषयमा समझदारी भएको छ । यसअघि नमोबुद्ध नगरपालिका वडा नं. ११ को बैठक, नगर कार्यपालिकाको बैठकका साथै नमोबुद्ध नगरपालिकाको दशौं नगरसभाको बैठकले समेत स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलव्ध गराउने निर्णय गरिसकेका छन् ।

समझदारीपत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जिल्लाका अन्य क्षेत्रबाट पनि आएको प्रस्तावकाबीच धुलिखेल अस्पतालले अनुसन्धान केन्द्र स्थापनाका लागि नमोबुद्ध नगरपालिकालाई चयन गरेकोमा आभार प्रकट गरे । उनले नमोबुद्ध नगरपालिकाको स्वास्थ्य क्षेत्रको विकासका लागि धुलिखेल अस्पतालले लिएको अग्रसरताले नगरबासी पूर्णरुपमा लाभान्वित हुने अपेक्षा रहेको बताउँदै अनुसन्धान केन्द्र स्थापनापछि मुलुकको स्वास्थ्य क्षेत्रमा थप प्रगति हासिल हुने पनि बताए । आफूहरुको कार्यकालमा नगरपालिकाभित्र अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र स्थापना हुनु गर्वको विषय रहेको तिमल्सिनाको भनाई थियो ।

यस्तै धुलिखेल अस्पतालका कार्यकारी निर्देशक रामकण्ठ माकजुले अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलव्ध गराएकोमा नगरपालिकाप्रति आभार प्रकट गरे । २५ बर्षअघि शिशु अवस्थामा सुरु गरिएको धुलिखेल अस्पताल अहिले स्वास्थ्य सेवामा मुलुककै अब्बल संस्था बनेको बताउँदै उनले अनुसन्धान केन्द्रलाई पनि सोहीअनुसार निर्माण र विकसित गर्दै लैजाने माकजुले बताए । हस्ताक्षर कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्ससेजका डीन डा। राजेन्द्र कोजु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा। रमेश माकजु, नमोबुद्ध नगरपालिका वडा नं. ४ का अध्यक्ष उद्धवप्रसाद काफ्ले, वडा नं. ६ का अध्यक्ष कुलप्रसाद न्यौपाने, वडा नं.११ का अध्यक्ष कृष्णवहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्