24.1 C
Kathmandu

ब्रेकिङ समाचारमन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन

मन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन

२४ असोज २०७८

काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं. ८ को नवनिर्मित पक्की वडा कार्यालय भवनको शनिबार उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले शनिबार आयोजित एक समारोहका बीच कार्यालय भवनको उद्घाटन गरेका हुन् । नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको पक्की प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पु¥याउने क्रममा आर्थिक बर्ष २०७७/७८ मा एकसाथ पाँच वटा वडा कार्यालय भवन निर्माण गरेको थियो । त्यसमध्ये वडा नं. २, वडा नं. १० र वडा नं. ११ को कार्यालय भवन यसअघि नै निर्माण सम्पन्न भई उद्घाटन भइसकेको छ । शनिबार वडा नं. ८ को भवन उद्घाटन भएसँगै अब वडा नं. ९ को भवन उद्घाटन हुन बाँकी रहेको छ । उक्त भवनको निर्माण कार्यसमेत सम्पन्न भइसकेको छ ।

यसअघि नै वडा नं. ३ र ६ को वडा कार्यालय निर्माण भइसकेको छ भने चालु आर्थिक बर्षमा वडा नं. १, ४ र ५ को भवन निर्माणको ठेक्का सम्झौता भएको छ । वडा नं. ८ को भवन निर्माणका लागि भ्याटबाहेक ४१ लाख १७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा बागमति प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले आफू प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि नै आफ्नो निर्वाचन क्षेत्र तथा समग्र नमोबुद्ध नगरपालिकाको विकास र समृद्धिको लागि लागिपरेको बताए । नमोबुद्ध नगरका हरेक टोलसम्म आफूले सक्दो योजना तथा बजेट पु¥याएको बताउँदै लामाले आगामी दिनमा पनि समृद्ध नमोबुद्धको सपना साकार पार्न प्रतिवद्ध भएर लाग्ने बताए । जनअपेक्षाअनुसार काम गर्न सके मात्रै आफू निर्वाचित हुनु र मन्त्री बन्नुको औचित्य सावित हुने भन्दै उनले जनअपेक्षा पुरा गर्न हरपल लागिपर्ने बताए । नमोबुद्धमा सडक, खानेपानी सिञ्चाई लगायतका सुविधाका लागि आफूले सक्दो काम गरेको उनको भनाई थियो । आफू मन्त्री बनेको भोली एक महिना पुरा हुने बताउँदै लामाले कृषि, सहकारी क्षेत्रको विकासका लागि कार्ययोजना निर्माण गरिसकेको र त्यसलाई क्रमश कार्यान्वयनमा लैजाने बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकाको प्रमुख प्रशासकीय भवन, सबै वडा कार्यालयको पक्की भवन, स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न हुने क्रममा पुग्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलव्धी भएको बताए । नगरमा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र पर्यटन क्षेत्रको विकाससँगै समृद्ध नगरको सपना साकार पार्न आफूहरु लागिपरेको उनको भनाई थियो । नगर प्रमुख तिमल्सिनाले नगरको गौरवको रुपमा मेथिनकोट अस्पताल प्रदेश अस्पतालको रुपमा स्तरोन्नति भएको, उक्त अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको, दाप्चा सडक कालोपत्रे भएको बताए । नगरका सबै वडामा सडक निर्माणको काम तीब्ररुपमा अघि बढेको तथा दाप्चाबाट नगरपालिकाको केन्द्रसम्म पुग्ने सडक पक्की बनाउन काम भइरहेको उनले बताए ।

यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले गाउँगाउँमा सिंहदरबारको नारालाई व्यवहारमै कार्यान्वयन गर्न, नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्नका लागि सबै वडाको कार्यालय भवन निर्माण भएको बताए । भौतिक पूर्वाधारको निर्माणमा नमोबुद्ध नगरपालिकाले एक कदम अघि रहेर काम गरेको तथा नागरिकलाई सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयबाट तथा अनलाइनमार्फत घरबाटै राजस्व तिर्नसक्ने व्यवस्था गरिएको पौडेलले बताए । यस्तै वडा नं.८ का वडा अध्यक्ष शेरवहादुर तामाङले आफू निर्वाचित भएपछि वडामा सडक, विद्यालय, स्वास्थ्य संस्था निर्माणको काम तीब्र रुपमा अघि बढाइएको बताए । सबै सरोकारवालाको साथ र सहयोगले वडामा विकासको काम निरन्तर अघि बढिरहेको तामाङको भनाई थियो । वडामा आउने सानो बजेटले ठूला योजना कार्यान्वयनमा समस्या भए पनि अन्य निकायको सहयोगमा वडामा सडकको स्तरोन्नति, विद्यालय निर्माण स्वास्थ्य संस्था निर्माण लगायतका काम गरिएको उनको भनाई थियो ।

कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, नमोबुद्ध नगरपालिका वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, तत्कालिन डराउने पोखरी गाविसका पूर्वअध्यक्ष उद्धवप्रसाद हुमागाईं लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बागमति प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई मन्त्री नियुक्त भएकोमा बधाईसहित सम्मान गरिएको थियो । सञ्चारकर्मी उपेन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा दाप्चा सडक निर्माण गर्ने ठेकेदार कम्पनीका प्रोप्राइटर धर्म लामा, इन्जिनियर अनिल पौडेल, महिला स्वास्थ्य स्वंयसमेविकाहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, वडा अध्यक्षहरु, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्