18.1 C
Kathmandu

ब्रेकिङ समाचारबाबुको मुख हेर्ने दिन ‘सेवाघर’मा नमोबुद्धका नगर प्रमुख

बाबुको मुख हेर्ने दिन ‘सेवाघर’मा नमोबुद्धका नगर प्रमुख

२३ भाद्र २०७८
भकुण्डेबेशी
– आज कुशे औंसी एवं बाुबको मुख हेर्ने दिन । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप आज छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरी मनाइरहेका छन् ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले भने असहाय वृद्धवृद्धालाई सम्मान गर्दै बाबुको मुख हेर्ने दिन मनाएका छन् । बाबुको मुख हेर्ने दिनको अवसर पारी नगर प्रमुख तिमल्सिना फूलफूल मिठाई तथा स्वास्थ्य सामग्री बोकेर मानव कल्याण समाजले काभ्रेको धुलिखेलमा स्थापना गरेको सेवा घर पुगेका थिए ।
सेवा घरमा सडकमा अलपत्र परेका, घरबाट निकालिएका, आफ्नो हेरचाह र संरक्षण गर्न नसक्ने बालबालिकादेखि वृद्धवृद्धासम्म आश्रित छन् । सेवा घरमा रहेका वृद्धवृद्धालाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यसहित उनीहरुलाई सम्मानसहित आफू भेट्न आएको नगर प्रमुख तिमल्सिनाले बताए । नगर प्रमुख तिमल्सिनाले व्यक्तिगतरुपमा तथा नगरपालिकामार्फत सेवा घरमा आश्रित मानिसहरुका लागि सहयोग गर्दै आएका छन् । नमोबुद्ध नगरपालिकाले यसअघि नै सेवा घरसँगको सहकार्यमा सडक मानवमुक्त नगरको अभियान सञ्चालन गर्दै आइरहेको छ ।

नगर प्रमुख तिमल्सिनाले सेवा घरमा आश्रित वृद्धवृद्धाहरुलाई फलफूल, मिठाई तथा स्वास्थ्य सामग्री प्रदान गर्नुका साथै उनीहरुलाई सम्मानसमेत गरेका थिए । ‘विगतमा पनि सेवा घरमा रहनुभएका बालबालिकासहित जेष्ठ नागरिकहरुको सेवामा लागेको थिएँ र आगामी दिनमा पनि लागिरहनेछु’ नगर प्रमुख तिमल्सिनाले भने, ‘चाडपर्वको समयमा पनि सेवा घरमा आश्रित जेष्ठ नागरिकहरुलाई आफ्नो कोही पनि नभएको महसुस नहोस् भन्ने उद्देश्यले आज आइपु्गेको हुँ ।’ नगर प्रमुख तिमल्सिनाले यसअघि नै सेवा घरमा आश्रित एक बालिकाको अभिभावकत्व ग्रहण गरिसकेका छन् ।

नमोबुद्ध नगरपालिकाले नगरपालिकामा सडकमा अलपत्र अवस्थामा रहेका पाँच जनालाई उद्धार गरेर सेवा घरमा पठाइसकेको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण मृत्युको जोखिममा पुगेका ती व्यक्तिहरु अहिले सेवा घरको संरक्षणमा उपचार गराई विभिन्न दाताको सहयोगमा आफ्नो जीवनयापत गरिरहेका छन् । मानव कल्याण समाजले नेपाली नागरिक र विभिन्न संघसंस्थाको सहयोगमा सेवा घर सञ्चालन गर्दै सडकमा अलपत्र नागरिकको उद्धार, हेरचाह एवं परिवारमा पुनर्मिलनको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्