22.1 C
Kathmandu

ब्रेकिङ समाचारआइसोलेसनमा भर्ना भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीले राखी बाँधिदिए

आइसोलेसनमा भर्ना भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीले राखी बाँधिदिए

८ भाद्र २०७८

भकुण्डेबेशी । कोरोना संक्रमण भएपछि भकुण्डेबेशीस्थित जनक क्याम्पसमा रहेको आइसोलेसनमा भर्ना भएका बिरामीहरु आइतबार बिहान निकै खुशी देखिए ।
चाडपर्वको समयमा घरमा नभई आइसोलेसनमा भर्ना भएर बस्नुपर्दा नरमाइलो लाग्नु स्वाभाविक नै हो । तर आइतबार बिहान जब आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीले रक्षाबन्धनको अवसरमा उनीहरुलाई राखी बाँधिदिए, उनीहरुको मुहारमा एकाएक खुशी भरिएको थियो । जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर खुशीयाली साथ मनाइरहँदा आइसोलेसनमा बसेका बिरामीका लागि पनि स्वास्थ्यकर्मीहरुले खुशी ल्याउने काम गरेका थिए ।

‘उहाँहरुलाई चाडपर्वको समयमा एक्लोपन महसुस नहोस् भनेर राखी बाँधिदिने टिका लगाइदिने काम गरेका हौं’ आइसोलेसन केन्द्रकी इन्चार्ज मथुरा सत्यालले भनिन् ‘हामीले राखी तथा रक्षाबन्धनको डोरो लगाइदिँदा उहाँहरुले धेरै नै खुशी व्यक्त गर्नुभयो ।’ पिपिई सेटसहित खटिएका स्वास्थ्यकर्मीहरुले आइसोलेसनमा भर्ना भएका बिरामीलाई स्वास्थ्य मापदण्ड पालना गर्दै उनीहरुको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै राखी र टिका लगाइदिएका थिए ।
बिरामीहरुले आफूहरु आइसोसेलनमा भर्ना हुनु परे पनि आजको दिन घरमै बसेजस्तो महसुस भएको प्रतिक्रिया दिएका छन् । आइसोलेसनमा ३० बर्षदेखि ७६ बर्षसम्मका बिरामी भर्ना भएका छन् । आइसोसेलनमा भर्ना भएका बिरामीलाई राखी बाधिदिएका स्वास्थ्यकर्मीहरुले पनि एकआपसमा राखी बाँध्दै सुस्वास्थ्यको कामना गरेका थिए ।

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा उक्त आइसोलेसन केन्द्रको स्थापना गरेका हुन् । उक्त आइसोलेसन केन्द्रमा हाल १० जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् । उनीहरुको उपचारदेखि खानपिनसहित सबै व्यवस्थापन दुबै पालिकाले संयुक्तरुपमा हेर्दै आएका छन् भने दुबै पालिकाबाट स्वास्थ्यकर्मी परिचालन गर्ने गरिएको छ । हाल रहेका १० जनासहित आइसोलेसनमा गत वैशाखयता १ सय ६० जना भर्ना भइसकेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्