26.1 C
Kathmandu

ब्रेकिङ समाचारचौंरीदेउरालीमा दलित र किसानलाई आर्थिक अनुदान

चौंरीदेउरालीमा दलित र किसानलाई आर्थिक अनुदान

२३ फागुन २०७७/छेडुप तामाङ
चौंरीदेउराली । काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ५, चौंरीका दलितहरुलाई, सुधारिएको आरान, आर्थिक अनुदान र पञ्चेबाजा वितरण गरेको छ । चालु आर्थिक वर्षको वडाको दलित उत्थन तथा आय अर्जन योजना अन्तर्गत यसरी वितरण गरिएको हो ।
वडा अध्यक्ष राजकुमार गौतम (आयुश)ले वडा कार्यालयमै एक कार्यक्रमका बीच वितरण गरिएको थियो ।
दलितहरुलाई कर्नल २ थान, सनाई २ थान, २ वटा दमहा, ट्याम्को १ थान, ढोलक १ थान, झ्याम्टा १ जोडी लगायतका बाजाका सामाग्री वितरण गरिएको थियो ।
दलित समुदायको आय अर्जनमा टेवा पनि पुग्ने र परम्परागत बाजागाजा सँस्कृतिको पनि संरक्षण गर्ने उद्देश्यले उक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष गौतमले बताए । ‘दलितलाई आत्मनिर्भर बनाउन आयअर्जनको बढाउन हामीले यस्तो योजना बनाएका हौं ।’ गौतमले भने, ‘दलित समुदायको आय अर्जनमा टेवा पनि पुग्ने र परम्परागत बाजागाजा सँस्कृतिको पनि संरक्षण गर्ने उद्देश्यले हामीले उहाँहरुलाई चाहिने बाजागाजाका सामग्री वितरण गरेका हौं ।’

त्यसैगरी सो कार्यक्रममा प्रति आरान ५० हजार रुपैयाँ बराबरको मुल्य पर्ने सुधारीएको आरण ३ ठाउँमा वितरण गरिएको थियो ।
परम्परागत आरानलाई विस्थापित गरि आधुनिक आरानको व्यवस्थापन गर्न आफूहरुले सुधारीएको आरान वितरण गरेको वडा अध्यक्ष गौतमले बताए ।
त्यस्तै दलितहरुको दुई वटा बंगुर पालन फर्मलाई पनि २ लाख रुपैयाँ रकम अनुदान दिएको छ । सो क्रममा चौंरीदेउराली बंगुर फर्मका लागि १ लाख ५० हजार रुपैयाँ, सुलिकोट बंगुर फर्मलाई ५० हजार रुपैयाँ रकम अनुदान दिएको थियो । आय अर्जनसँग प्रत्यक्षरुपमा जोड्दै आत्मनिर्भर र स्वरोजगार सिर्जना गर्न अनुदानको कार्यक्रम पनि ल्याएको उनले बताए ।
‘हामीसँग परम्परागत शिप मात्र छ, जसको कारण व्यबसायीक रुपमा बंगुर पालन गर्न सकेका छैनौं । दलित समुदायलाई हामी स्वरोजगार बनाउदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन चाहन्छौं ।’ वडा अध्यक्ष गौतमले भने, ‘बुंगुर पालनलाई आाधुनिक र व्यवसायिक बनाउन उहाँहरुलाई अनुदान दिएका छौं । हाम्रो सानो सहयोगले उहाँहरुलाई टेवा पुग्छ भन्नेमा विश्वास गर्दछौं ।’
यसैबीच आफ्नो समूहलाई बाजागाजा पाएपछि हिराबहादुर नेपाली खुशी भएका छन् । बाजागाजाको अभावका कारण परम्परा र सँस्कृति नै जोखिममा रहेको बेला यसरी बाजागाजा पाएपछि उनी खुशी भएका हुन् । ‘बाजागाजा नभएर हाम्रो आय अर्जन नै धरापमा परेको थियो ।’ नेपालीले भने, ‘अब परम्परा र सँस्कृति पनि जोगिने भयो, आय अर्जन पनि बढ्ने भयो ।’
त्यसैगरी स्थानीय सरोज रसाईली पनि आधुनिक र सुधारीएको आरान पाएपछि खुशी भएका छन् । एकातिर स्वरोजगार हुने र अर्को तिर सुधारीएको आरानले बढी काम गर्न सक्ने भएकोले आरान दिएकोमा वडा कार्यालयलाई धन्यवाद समेत दिए । ‘किसानहरु कृषि औजार बनाउन शहर तिर धाउन थाले । हामीसँग परम्परागत आरान मात्र थियो ।’ खुशी हुँदै रसाईलीले भने, ‘अब त्यस्तो समस्या आउँदैन । आरान पाएपछि पेशा र आय अर्जन बृद्धि भइ स्वरोजगारको ग्यारेन्टी भयो । वडा वडा अध्यक्ष ज्यूलाई धन्यवाद ।’
८६ किसानलाई गाई भैंसी सुत्केरी भत्ता
त्यसैगरी कार्यक्रममा ८६ जना किसानलाई गाई भैंसी सुत्केरी भत्ता समेत वितरण गरेको छ । उनीहरुलाई १५ सय रुपैयाँका दरले भत्ता वितरण गरिएको हो ।
भैंसी पालनको पकेट क्षेत्रको रुपमा विकास गर्न र किसानलाई प्रोत्साहन स्वरुप भैंसी सुत्केरी भत्ता वितरण गरिएको वडा अध्यक्ष गौतमले बताए ।

यस अघि पनि सो वडाले १ सय ३ जना किसानलाई सुत्केरी भत्ता वितरण गरेको थियो । भैंसी सुत्केरी भत्ता पाएछि स्थानीय किसान यम प्रसाद गौतम खुशी भएका छन् । किसानलाई प्रोत्साहन गर्ने यो नौलो योजना प्रति उनी खुशी छन् । ‘कहीं नभएको योजना यहाँ बनाएको रहेछ, अत्यन्तै नौलो काम लागेको छ ।’ गौतमले भने, ‘मान्छेलाई त सुत्केरी भत्ता पाएको सुनेको तर भैंसीलाई पनि दिने प्रचलन ल्याएकोमा खुशी लागेको छ । हामी किसानलाई यो योजनाले प्रोत्साहन मिलेको छ ।’

चौंरीदेउराली गाउँपालिका वडा नं. ५ कोशीपारी क्षेत्रकै सबैभन्दा बढी भैंसीपालन गर्ने वडाको रुपमा यो वडालाई चिनिन्छ । कार्यक्रममा उपाध्यक्ष ताराकुमारी चौंलागाईं, वडा सचिव अनिलराज गिरी, वडा सदस्यहरु बाबुराम चौंलागाईं लगायतका सहभागी थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्