18.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेको नमोबुद्ध भकुण्डेमा शेयर बजारबारे सचेतना कार्यक्रम

काभ्रेको नमोबुद्ध भकुण्डेमा शेयर बजारबारे सचेतना कार्यक्रम

२३ फागुन २०७७/छेडुप तामाङ
काठमाडौ
। शेयर बजारमा सर्वसधारणको रुची बढेसँगै सर्वसाधारणलाई यसबारे आवश्यक तालिम प्रदान गर्न थालिएको छ ।
सोही क्रममा शेयर बजारका लगानीकर्ताहरुका लागि सचेतना कार्यक्रम शनिबार भकुण्डेबेशीमा सम्पन्न भएको छ । भकुण्डेबेशी जेसीज, जनक एलुम्नाई एसोसिएसन भकुण्डे, भिजन सेक्युरिटिज प्रालि र पे–वाल नेपालको आयोजनामा भएको कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डले गरेको थियो । पछिल्लो समय शेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दै गए पनि शेयर किनबेच प्रक्रिया, यसका फाइदा र वेफाइदा लगायतका विषयमा धेरै सर्वसाधारण अन्योलमा रहँदै आएका छन् । यसैलाई मध्यनजर गर्दै शेयर बजारबारे जानकारी लिन इच्छुक २ सय भन्दा बढी व्यक्तिको सहभागितामा सचेतना कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रमको उद्घाटन नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले गरेका थिए । कार्यक्रममा तिमल्सिनाले शहरी क्षेत्रमा केन्द्रित शेयर बजारको अवधारणलाई ग्रामीण भेगसम्म ल्याउन पहल गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले विद्यालयस्तरदेखि नै नयाँ पुस्तालाई शेयर बजार र यसका फाइदा बेफाइदाका विषयमा ज्ञान दिनुपर्ने आवश्यकता औंल्याउँदै निकट भविश्यमै धितोपत्र बोर्ड लगायतका सम्वन्धीत संघसंस्थासँग मिलेर विद्यालयस्तरमा कार्यक्रम आयोजना गर्ने बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बचत बढाउन सकिएमा मात्रै लगानी बढाउन सकिने भन्दै पहिला बचत गर्ने बानीको विकास गर्नुपर्ने बताए । लगानीकर्ताहरु शहर केन्द्रित बनेको र यसलाई ग्रामीण भेगसम्म पु¥याउनुपर्नेमा पौडेलले जोड दिए । ग्रामीण भेगसम्म इन्टरनेटको पहुँच पुगेमा शेयर बजारमा ग्रामीण क्षेत्रका बासिन्दाको पहुँच वृद्धि हुने पौडेलको भनाई थियो ।

जनक एलुम्नाई एसोसिएसनका अध्यक्ष रामहरि खनालको सभापतित्व तथा भकुण्डेबेसी जेसीजका पूर्वअध्यक्ष हरिहर अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पे–वेल नेपालका सञ्चालक भिमप्रसाद तिमल्सिना र आर्थिक विज्ञ विपी तिमल्सिनाले शेयर बजारका विषयमा मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरे र भिजन सेक्युरिटिज प्रालिका अध्यक्ष राजकुमार तिमल्सिनाले शेयर बजार, लगानी गर्दा अपनाउनुपर्ने प्रक्रिया, कानुनी प्रवधान तथा अपनाउनुपर्ने सचेतनाबारे प्रस्तुतिकरण दिएका थिए ।
भकुण्डेबेसी जेसीज बर्ष २०२१ का महासचिव श्रीहरि अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा बैंक तथा सहकारीकर्मी, जनप्रतिनिधि, स्थानीय विद्यालय तथा संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्