18.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा सदाचार प्रवर्द्धन कार्यक्रम शुक्रबार सम्पन्न

नमोबुद्धमा सदाचार प्रवर्द्धन कार्यक्रम शुक्रबार सम्पन्न

14 Falgun 2077

भकुण्डेबेसी– राष्ट्रिय सतर्कता केन्द्रको आयोजनामा सदाचार प्रवर्द्धन कार्यक्रम शुक्रबार नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । 

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आयोजित उक्त कार्यक्रमको उदघाटन नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले गरेका थिए । कार्यक्रममा तिमल्सिनाले सुशासन आफूहरुको मुल मन्त्र भएको बताउँदै नगरमा सुशासन कायम गर्न प्रतिवद्ध रहेको बताए । जनप्रतिनिधि र कर्मचारी मिलेमात्रै सुशासन कायम गर्न सहज हुने बताउँदै उनले आपसी सहकार्यमा नमोबुद्ध नगरलाई बेथितिमुक्त नगरको रुपमा विकास गर्दै लगिएको बताए । 

चुनाव अघि नै आफूहरुले बेथितिको अन्त्यलाई मुल मुद्दा बनाएको र सोहीअनुसार बेथिति अन्त्य गर्दै लगिएको दाबी पनि तिमल्सिनाले गरे । उनले नगरपालिकामा कोही कसैलाई विभेदपूर्ण व्यवहार नगरिएको पनि बताए । 

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सतर्कता केन्द्रका सहसचिव ज्ञानराज सुवेदीले राष्ट्रिय सतर्कता केन्द्रको परिचय, सुशासन प्रवद्र्धन एवं भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै केन्द्रका उपसचिव हरिप्रसाद शर्माले सम्पति विवरण र आयको अनुगमनबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सदाचारलाई प्रोत्साहन गर्न नमोबुद्ध नगरपालिकामा कार्यक्रम राखिएकोमा सतर्कता केन्द्रप्रति आभार प्रकट गरे । नगरपालिकामा सुशासन कायम गर्ने क्रममा सेवाग्राहीका लागि टोकन प्रणालीको व्यवस्थापन गरिएको, तातोपानी र चियाको व्यवस्था गरिएको पौडेलले जानकारी दिए । स्थानीय तहको काम कार्बाही हेर्ने निकाय धेरै रहेको भन्दै उनले सबै निकायबाट एकीकृतरुपमा हेर्दा राम्रो हुने सुझाव पनि दिए । आफूहरुले काम गर्ने सिलसिलामा कुनै कमीकमजोरी भए या राम्रो काम गरेमा त्यसको मुल्यांकन गर्न पनि उनले राष्ट्रिउ सतर्कता केन्द्रलाई आग्रह गरे । 

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नगरपालिकाका सामाजिक परिचालन संयोजक श्याम खनालले सञ्चालन गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्