24.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध २ को वडा कार्यालयको भवन निर्माण सुरु

नमोबुद्ध २ को वडा कार्यालयको भवन निर्माण सुरु

१३ फागुन २०७७/छेडुप तामाङ
काठमाडौ ।
नमोबुद्ध नगरपालिका अन्तर्गत वडा नं.२ को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । बिहीबार एक कार्यक्रमकाबीच नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले भवनको शिलान्यास गरेसँगै कार्यालय निर्माण सुरु भएको हो ।

२०७८ असार १६ गतेभित्र कार्यालय भवन निर्माण सक्नेगरी सम्झौता भए पनि त्यसअघि नै निर्माणको काम सम्पन्न हुने अपेक्षा गरिएको छ । यो बर्ष निर्माण हुन लागेको नमोबुद्ध नगरपालिकाको यो पाँचौं वडा कार्यालय भवन हो । यसअघि नै वडा नं. ७, ८ ९ र १० को भवन निर्माण सुरु भइसकेको छ । वडा नं. २ को भवन निर्माणका लागि सिद्धिविनायक निर्माण सेवा धुलिखेलसँग भ्याटबाहेक ४० लाख ७४ हजार ५ सय ७१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरमा पूर्वाधार निर्माणसँगै अन्य महत्वपूर्ण कार्यको सुरुवात गरिएको बताए । प्रविधिमैत्री, अपांगमैत्री र वातावरणमैत्री संरचना निर्माण गरिएको र यसले सेवाग्राहीलाई सहजरुपमा सेवा लिने वातावरण निर्माण हुने तिमल्सिनाले बताए । नगरमा खानेपानीको समस्यालाई दीर्घकालिनरुपमा समाधान गर्दै लगिएको र थप योजना अघि बढाउन डिपिआरको काम सकिएको तिमल्सिनाले बताए । नगरलाई वातावरणमैत्री बनाउने आफूहरुको योजना सफलतातर्फ उन्मुख भएको, नगरभित्र विभिन्न निकायसँगको सहकार्यमा राष्ट्रिय गौरवका योजनाहरु सञ्चालन गर्न लागिएको तिमल्सिनाको भनाई थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले वडाबाटै जनताका अधिकांश काम हुने भएकाले वडा कार्यालय भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । हाल वडा नं। २ र ४ बाट अनलाइनमार्फत राजस्व भुक्तानीको सेवा सुरु गरिएको र अन्य वडामा पनि विस्तार गर्दै लगिने पौडेलले जानकारी दिए । गुणस्तरीय ढंगले कार्यालय भवन निर्माण सम्पन्न गर्नका लागि जनताको पहरेदारी आवश्यक रहेको भन्दै उनले भोलीको पुस्तालाई समेत गर्व गर्ने ठाउँको रुपमा विकास हुने अपेक्षासमेत गरे ।

वडा अध्यक्ष सञ्जीव ढकालको सञ्चालनमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा स्थानीय कुमार दाहालले वडा कार्यालय निर्माण हुन लागेको रातमाटे न्यायको केन्द्र बनेको बताउँदै कार्यालय निर्माणको काम अघि बढेकोमा खुशी व्यक्त गरे । सबै जनतालाई पायक पर्ने ठाउँमा वडा कार्यालय भवन निर्माण भइरहेको बताउँदै दाहालले पारदर्शीरुपमा तोकिएको समयमै काम सम्पन्न हुने विश्वाससमेत व्यक्त गरे । कार्यक्रममा स्थानीयबासी, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीहरु एवं विभिन्न क्षेत्रमा क्रियाशिल सामाजिक व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्