17.1 C
Kathmandu

ब्रेकिङ समाचारमहिलालाई आत्मनिर्भर बनाउँदै नमोबुद्ध नगरपालिका

महिलालाई आत्मनिर्भर बनाउँदै नमोबुद्ध नगरपालिका

6 Fagun 2077

दाप्चा–महिलालाई सीप सिकाएर आत्भनिर्भर बनाउने अभियानअन्तर्गत नमोबुद्ध नगरपालिकाले महिलाका लागि पाँच दिने सीप विकास तालिम सुरु गरेको छ । 

बिहीबार नमोबुद्ध नगरपालिका ११ स्थित एकल महिला भवनमा पाँच दिने सीप विकास तालिम सुरु गरिएको हो । तालिमको नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका छन् । तालिम उद्घाटन गर्दै नगर प्रमुख तिमल्सिनाले उद्यमशिलतालाई रोजगारीसँग जोडन्पर्ने र नगरमा उत्पादन भएका विभिन्न वस्तुलाई ब्रान्डिङ गर्दै आर्थिक विकासको थालनी गरिने बताए । उनले नगरपालिकामा कृषिजन्य उद्योगहरुलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै महिला उद्यमशिलताका लागि विभिन्न योजना र कार्यविधि तयार पारेर अगाडि बढ्ने बताए । उनले आफूले सिकेका सीपलाई आयआर्जनसँग जोड्न पनि सहभागीहरुलाई आग्रह गरे । उनले नगरपालिकामा कोशेली घरको स्थापनाको तयारी अघि बढाइएको पनि जानकारी दिए ।

कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङले धेरै महिलाले सीप नहुँदा समस्या भोग्नुपरेको भन्दै त्यसको अन्त्य गर्दै आत्मनिर्भर बनाउन तालिम सुरु गरिएको बताइन् । उनले महिलाका लागि नगरपालिकाले यसअघि पनि आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै महिलाले उत्पादन गरेका विभिन्न सामग्रीको बजार व्यवस्थापन गर्ने बताइन् । महिला आफ्नो खुट्टामा उभिन सक्ने हो भने आफ्नो खर्चका लागि कसैको भर पर्नुनपर्ने बताइन् । एक वडा एक उद्यमीको अभियानसमेत नगरपालिकाले सुरु गरेको तामाङले बताइन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप विकास गर्नसके आयआर्जन बढ्ने र आयआर्जन बढ्दा आत्मनिर्भर भइने बताए । जानेको सीपलाई आयआर्जनमा रुपान्तरण गर्नुपर्ने र व्यवसायिक रुप दिँदा आर्थिक विकासमा टेवा पुग्ने पौडेलले बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं १० का अध्यक्ष रामकृष्ण अधिकारीले तालिमबाट सिकेका कुरालाई व्यवहारमै उतार्न आग्रह गरे । 

तालिममा नमोबुद्ध नगरपालिका वडा नं. १, ७, ८, ९, १० र ११ गरी छ वटा वडाका ३० भन्दा बढी महिलाको सहभागिता रहेको छ । उनीहरुलाई लप्सीको अचार, क्याण्डी लगायतका परिकारहरु बनाउन सिकाइने नमोबुद्ध नगरपालिका महिला बालबालिका शाखा प्रमुख तारा सुनुवारले जानकारी दिइन् । तालिममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ तथा लिला राईले प्रशिक्षण दिनेछन् । तालिमको उद्घाटन कार्यक्रम नगरपालिका उपप्रमुख रामदेवी तामाङको सभापतित्व र महिला बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारको सञ्चालनमा सम्पन्न भएको थियो । 

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्