नेकपा एकताका लागि दबाव दिन १०१ सदस्यीय कमिटी गठन

१२ माघ २०७७
काठमाडौ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः एकता गराउने भन्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्ने चर्चा चलिरहेका बेला प्युठानमा कमिटी नै गठन भएको छ । पार्टी एकताका लागि दबाव सिर्जना गर्न भन्दै १०१ सदस्यीय कमिटी गठन गरिएको हो ।
एकता पक्षधरका अगुवा कार्यकर्ताको भेलाले टिकाबहादुर गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको सचिव इमानसिंह भारतीले बताए । भेलाले पार्टी विभाजनबाट रोक्न दबाव सिर्जना गर्ने निर्णय गरेको उनले बताए । भेलाले गरेका निर्णयहरु पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पठाइनेछ ।
‘दुवै पक्षका भेला सभाहरुमा नेताहरुको अभिव्यक्तिमा प्रयोग गरिने शब्दहरु पार्टी तथा आम कार्यकर्ताका मनोभावनामा चोट पुग्ने खालका भएकाले दुःख व्यक्त गर्ने र यस्ता शब्द प्रयोग नगर्न अनुरोध गर्ने निर्णय गरेका छौं,’ सचिव भारतीले भने, ‘पार्टी एकताका आधार पत्र र आचारसंहिता तयार गरी हस्तान्तरण गर्ने योजनामा छौं ।’