24.1 C
Kathmandu

ब्रेकिङ समाचारजनसेवामा नमोबुद्ध; विपदमा परेकालाई राहत, अलपत्रको उद्धार

जनसेवामा नमोबुद्ध; विपदमा परेकालाई राहत, अलपत्रको उद्धार

१० पौष २०७७/छेडुप तामाङ
काठमाडौ
–नमोबुद्ध नगरपालिकाले विपदमा परेका नगरबासीलाई सहयोग गर्न थालेको छ । सोही क्रममा यो बर्ष विपदका कारण समस्यामा परेका ११ परिवालाई पुस १० गते शुक्रबार एक कार्यक्रमका बीच राहत प्रदान गरिएको छ ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले पीडितलाई आर्थिक सहयोगको चेक हस्तान्तरण गर्दै सहयोग गर्ने अभियानको सुरुवात गरेका हुन् । नमोबुद्ध नगरपालिकाले यही बर्षदेखि कार्यविधि निर्माण गरी विपदमा परेका नगरबासीलाई सहयोग गर्न थालेको हो ।

कार्यविधिअनुसार विभिन्न प्रकोपबाट ५ लाखसम्म क्षति भएका परिवारलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने ५ देखि १० लाखसम्म क्षति भएकाले १५ हजार तथा १० लाख भन्दा बढी क्षति भएकाले २० हजार रुपैयाँ पाउनेछन् । यस्तै पशु चौपायातर्फ विविध कारण भैसी मरेकोमा ७ हजार, गाई मरेकोमा ५ हजार तथा अन्य पशु चौपाया मरेमा ३ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने कार्यविधि बनाइएको छ ।
शुक्रबार सहयोग पाउनेहरुमा घर भत्किएकाहरुले १० हजार रुपैयाँ पाएका छन् भने भैसी मरेका पीडितलाई ७ हजार रुपैयाँ दिइएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले विपदमा परेकाहरुलाई केही भएपनि राहत मिलोस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरेर सहयोग गरिएको बताए । नगरपालिकाले यसअघि नै गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई आर्थिक सहयोग गर्दै आएको छ ।

सडकमा अलपत्र परेका वृद्धको उद्धार
नमोबुद्ध नगरपालिकाले नगरपालिकालाई सडक मानवमुक्त बनाउने उद्देश्यले सडकमा अलपत्र परेकाहरुका उद्धारलाई तीब्रता दिएको छ । सोही क्रममा शुक्रबार एकजना सडक मानवको उद्धार गरिएको छ । झण्डै दुई बर्षदेखि नगरपालिकाको बजार क्षेत्र भकुण्डे र नौबिसेमा सडकमै बस्दै आएका वृद्धलाई उद्धार गरिएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको पहलमा अन्दाजी ६५ बर्षका ती वृद्धलाई उद्धार गरेर मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा पठाइएको छ । स्थानीय समाजसेवी, प्रहरी लगायतको रोहबरमा ती वृद्धलाई सेवा घर पठाइएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिए । ती वृद्ध बोल्न पनि सक्दैनन् भने कानसमेत सुन्दैनन् । नगरपालिकाले अघिल्लो महिनामात्रै लामो समयदेखि भकुण्डेमै बस्दै आएका एक वृद्धलाई उद्धार गरेर सेवा घरमा पठाएको थियो । नगरपालिकाले सडकमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि मानव कल्याण समाजसँग सम्झौतासमेत गरिसकेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्