29.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरका मेयरले भकुण्डेबाट एक बेवारिसे व्यक्तिको उद्धार

नमोबुद्ध नगरका मेयरले भकुण्डेबाट एक बेवारिसे व्यक्तिको उद्धार

२२ मंसिर २०७७
काठमाडौ
–नमोबुद्ध नगरपालिकाको भकुण्डे बजार क्षेत्रमा झण्डै एक दशकदेखि बेवारिसे अवस्थामा बस्दै आएका एक वृद्धको उद्धार गरिएको छ ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिना लगायत जनप्रतिनिधि र स्थानीय समाजसेवीको पहलमा उनलाई उद्धार गरी मानव कल्याण समाज काभ्रे शाखामा पठाइएको छ ।

अन्दाजी ६० बर्षका ती वृद्ध भकुण्डे क्षेत्रमा मागेर हिँड्ने गर्दथे । भारतको महाराष्ट्र घर बताउने उनको स्वास्थ्य उपचारको व्यवस्था नगरप्रमुख तिमल्सिनाको पहलमा मेथिनकोट अस्पतालमा हुने गरेको थियो । नगर प्रमुख तिमल्सिनाले उनलाई लत्ताकपडा लगायतको व्यवस्था गरिदिएका थिए । पछिल्लो समय मेथिनकोट अस्पतालमै उपचारको क्रममा रहेका उनी केही दिनयता फेरि अस्पतालबाट निस्किएर सडकमा आइपुगेका थिए ।

ती वृद्धको उद्धारका लागि नमोबुद्ध नगरपालिका ७ का वडाअध्यक्ष धर्मसिं लामा, समाजसेवी शंकर गिरी, प्रहरी चौकी भकुण्डेको टोली समेत खटिएको थियो । स्थानीय समाजसेवी गिरीले लामो समयदेखि उनलाई खानपानमा सहयोग गर्दै आएका थिए । गिरी लगायतको टोलीको नेतृत्वमा उनलाई केही दिनअगाडि मेथिनकोट अस्पतालमा उपचारका लागि लगिएको थियो ।

आइतबार साँझ मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंसहितको टोली भकुण्डे पुगेर उनलाई धुलिखेलस्थित समाजको सेवाघरमा ल्याइएको छ । अब उनको खानपानदेखि सबै व्यवस्था उक्त सेवाघरबाट हुने अध्यक्ष चौलागाईंले बताइन् । उनको स्वास्थ्य अवस्था नाजुक रहेको र भोलीबाटै थप उपचारका लागि प्रक्रिया सुरु गरिने चौलागाईंको भनाई छ । मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा २५ जना रहेका छन् भने केन्द्रीय कार्यालयमा ५० जनाले आश्रय लिइरहेका छन् । सडकमा बेवारिसे अवस्थामा पुगेकालाई पुनस्र्थापना गर्ने र अन्य मानिसलाई सडकमा जान नदिन विभिन्न कार्यक्रमहरु समाजले गरिरहेको छ ।

नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिनाले ती वृद्धको उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । बेसहारा व्यक्तिका लागि विगतमा पनि नगरपालिकाले सहयोग गर्दै आएको र अबका दिनमा पनि सहयोग जारी राख्ने तिमल्सिनाले बताएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्