18.1 C
Kathmandu

ब्रेकिङ समाचारसामाजिक सुरक्षा भत्ता लागि चौंरीदेउरालीको वडा कार्यालयमै बैंक खाता

सामाजिक सुरक्षा भत्ता लागि चौंरीदेउरालीको वडा कार्यालयमै बैंक खाता

७ माघ २०७७
काठमाडौ
– बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सरकारको योजना अनुसार सबै स्थानीय तहहरुले लाभग्राहीको बैंक खाता खोल्न आव्हान गरेपनि धेरै कठीनाइहरु व्यहोर्न बाध्य भएका छन् । एकातिर कागजी प्रक्रिया मिलाउन गाह्रो भएको छ भने अर्को तिर बैंकको कार्यालय टाढा भएपछि समस्या ब्यहोर्न बाध्य छन् ।

तर काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ३, माझीफेदाले भने वडा कार्यालयमै खाता खोल्ने वातावरण बनाएको छ । एनसीसी बैंक, कातिके देउराली शाखासँग समन्वय गरेर वडामै खाता खोल्ने वातावरण तयार पारेको वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिए ।

पूर्ण अपांग, अपांग, जेष्ठ नागरिक, एकल महिलालाई वडाबाट बैंकको कार्यालय पुग्न हिंडेर कम्तीमा ३ घण्टा लाग्ने भएपछि बैंक मार्फत सामाजिक सुरक्षा भत्ता दिन ग्रामिण क्षेत्रमा कठिन भएको वडा अध्यक्ष घिसिङले बताए । ‘गाउँका बुद्ध–बृद्धा बुबा–आमाहरु, शारीरिक आशक्तहरु, एकल महिलालाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निती त आयो तर उहाँहरु बैंकमा पुग्न सक्ने अवस्था नै छैन ।’ उनले भने, ‘जनताको लागि गाउँ–गाउँमा सिंहदरबार आएको अनुभूति पनि गराउनु थियो, फेरि जनताको समस्या हामीले नबुझे कस्ले बुझ्ने ? जनताकै लागि जनप्रतिनिधि, जनताले नै बनाएको जनप्रतिनिधि, हामीले उहाँहरुको सेवा नगरे कस्ले गर्ने ?’ जनताको समस्या देखेरै वडा कार्यालयमै खाता खोल्ने वातावरण बनाएको वडा अध्यक्ष घिसिङले बताए ।
३ दिनसम्म खाता खोल्ने कार्य हुने घिसिङले जानकारी दिए । ‘आजबाट शुरुवात भएको हो । हामी जनतालाई ३ दिनको समय दिएका छौं ।’ उनले भने, ‘आज मात्रै हामीले १ सय ५० भन्दा बढीको खाता खोलेका छौं ।’ ३ नं. वडामा सामाजिक सुरक्षा भत्ताका लाभग्राही ३ सय ८६ जना रहेको वडा अध्यक्ष घिसिङले जानकारी दिए ।

बृद्ध–बृद्धा खुशी
वडा कार्यालयमै बैंक खाता खोल्न पाएपछि स्थानीय ७५ वर्षिय बृद्धा साइली तामाङ खेशी भएकी छिन् । ‘म बुढी हिंडेर बैंक कार्यालयमा ३ घण्टामा पनि पुग्न सक्दिन । रोड त छ तर गाडीको व्यवस्था छैन ।’ तामाङले भनिन्, ‘वडा कार्यालयमै खाता खोल्न पाइयो । वडा अध्यक्ष बाबुले व्यवस्था गरेको रहेछ । खुशी लाग्यो ।’
त्यसैगरि अर्का बृद्ध ८० वर्षिय जमान सिं तामाङ पनि बैंक मार्फत आफ्नो भत्ता आउने भएपछि पिर गरेर बसेका थिए । पहिला–पहिला वडा अध्यक्ष र सचिवले घर–घरमै पु¥याएपनि बैंकबाटै दिने भएपछि भत्त पाउनै गाह्रो हुने भयो भन्ने पिर उनलाई थियो । ‘के गर्नु म ८० वर्षको भएँ । हिंड्न सक्दिन । बैंक कार्यालय पनि यहाँबाट धेरै टाढा छ ।’ उनले भने, ‘वडा कार्यालयसम्म त जसरी पनि आउन सक्छु । अहिले मलाई चिन्तै छैन । वडा कार्यालयमै खाता खोल्न पाएँ । खुशी छु ।’

बैंक खाता सञ्चालन गर्ने कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईं, वडा सदस्य भोजबहादुर गौतम, वडा सचिव सुमान राजथला, बैंक प्रतिनिधि सञ्जीव लामा, राष्ट्रिय परिचयपत्र तथा पंजिकरण इकाइ, चौंरीदेउराली गाउँपालिका एमआइएस अपरेटर अनिल तामाङ लगायतका सहभागी रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्