28.1 C
Kathmandu

अर्थतन्त्रलगानी बोर्ड एक महिनादेखि प्रमुखविहीन

लगानी बोर्ड एक महिनादेखि प्रमुखविहीन

सरकारले लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ । झन्डै एक महिनादेखि बोर्ड सिइओविहीन रहेकाले नयाँ नियुक्तिको तयारी गरेको हो ।

यसअघि बोर्डका सिइओ महाप्रसाद अधिकारीले चारवर्षे कार्यकाल पूरा गर्न दुई महिना बाँकी छँदै राजीनामा दिएपछि बोर्ड प्रमुखविहीन बनेको छ । अधिकारीलाई सरकारले २५ चैतमा राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरिसकेको छ ।  ‘सिइओ नियुक्तिका लागि सूचनामार्फत विज्ञापन गर्ने तयारी भइरहेको छ,’ बोर्ड कार्यालयका प्रवक्ता (सहसचिव) बलराम रिज्यालले भने ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन २०७५ ले बोर्डको सिइओ नियुक्तिको सिफारिस गर्न बोर्डका उपाध्यक्ष (अर्थमन्त्री)को संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष र सरकारले पठाउने एक विज्ञ सदस्यसहितको सिफारिस समिति बनाउनुपर्ने व्यवस्था गरेको छ ।

उक्त सिफारिस समितिले सिइओ नियुक्तिका लागि व्यवस्था गरिएको मापदण्डका आधारमा योग्य उम्मेदवारमध्ये ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । समितिले सिफारिस गरेका उम्मेदवारमध्ये सबैभन्दा योग्य एकजनालाई मन्त्रिपरिषद् बैठकले निर्णय गरेर बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

बोर्डको सिइओ हुन मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण व्यक्ति हुनुपर्नेछ । त्यस्तै, परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवद्र्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापनजस्ता क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हुनुपर्ने व्यवस्था गरेको छ ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्