19.1 C
Kathmandu

ब्रेकिङ समाचारन्यानो लुगा बोकेर जेष्ठ नागरिकको घरघरमा नगर प्रमुख र वडा अध्यक्ष

न्यानो लुगा बोकेर जेष्ठ नागरिकको घरघरमा नगर प्रमुख र वडा अध्यक्ष


२७ कार्तिक २०७७/छेडुप तामाङ
काभ्रे
–नमोबुद्ध नगरपालिका वडा नं.१० का जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । वडा नं. १० को आयोजनामा वडाभित्र रहेका जेष्ठ नागरिक र एकल महिला गरी ३ सय २५ जनालाई घरघरमै पुगेर जाडोका लागि न्यानो लुगा वितरण गरिएको हो ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिना, वडा अध्यक्ष रामकृष्ण अधिकारीसहित जेष्ठ नागरिकको घरघरमा पुगेर न्यानो कपडा वितरण गरेका थिए । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफू वृद्धावृद्धालाई सहयोग दिनको लागि नभई आशीर्वाद माग्न आएको बताए । ‘नगरले बार्षिक योजना बनाएरै जेष्ठ नागरिकको लागि काम गर्दै आएको छ’ शर्माले भने ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनेछ ।’ नगरका सबै वडामा जेष्ठ नागरिकका लागि यस्ता कार्यक्रम आयोजना गरिने शर्माले जानकारी दिए ।

दुई दिन लगाएर वडाका सबै जेष्ठ नागररिक तथा एकल महिलालाई न्यानो लुगा वितरण गरिएको वडाअध्यक्ष अधिकारीले बताए । अधिकारीका अनुसार सबैलाई जाडोमा न्यानोका लागि एक एक थान स्वेटर, टोपी र ट्राउजर वितरण गरिएको छ । यस्तै ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई चार्जेबल टर्चसमेत वितरण गरिएको छ । ‘कोभिड १९ महामारीको अवस्था र जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै टोलटोलमै टोली पुगेर न्यानो लुगा वितरण गरेका हौं’ वडा अध्यक्ष अधिकारीले भने । आफू निर्वाचित हुनु अघि नै जेष्ठ नागरिकलाई विभिन्न अवसरमा सम्मान गर्दै आएको र निवाचित भएपछि पनि बर्सेनी जेष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम गरिरहेको अधिकारीले बताए । वडाले कोभिड १९ महामारी सुरु भएलगत्तै वडाका सबै बासिन्दाका लागि मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गर्नुका साथै चेतनामुलक अभियान सुरु गरेको थियो । त्यसकै कारण हालसम्म उक्त वडामा कोभिड १९ का बिरामी फेला परेका छैनन् ।

वडाले घरमै आएर न्यानो लुगा वितरण गर्दा जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका थिए । उनीहरुले जनप्रतिनिधि आएपछि आफूहरुले पाउने सेवा सुविधामा समेत वृद्धि भएको बताए । पछिल्लो समय नियमितरुपमा वृद्धभत्ता आएको तथा नगर र वडाले विभिन्न समयमा राहतसहित सहयोग र सम्मान गर्दै आएको उनीहरुले बताए । यसअघि नगरप्रमुख शर्माले वडा नं. १० पुगेर वृद्धवृद्धालाई स्वास्थ्य सामग्री वितरण गरेका थिए । नगरपालिकाले यसअघि नै नगरभित्र वृद्धवृद्धा भेटघाट चौतारी निर्माणको काम गरिरहेको छ । नगरभित्रका वृद्धवृद्धाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्ने लगायतका कामसमेत अगाडि बढाइएको नगरप्रमुख शर्माले जानकारी दिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्