24.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र निर्माण हुने

नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र निर्माण हुने

१२ साउन २०७८


काठमाडौ
। नमोबुद्ध नगरपालिकामा धुलिखेल अस्पतालको स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने भएको छ ।
यसका लागि सरोकारवालाबीचको छलफल तीब्र बनेको छ । नमोबुद्ध नगरपालिका वडा नं. ११ को भालुखर्क स्वाराडाँडामा अनुसन्धान केन्द्र निर्माण गर्ने तयारी भएको हो । अनुसन्धान केन्द्र स्थापनाका लागि नमोबुद्ध नगरपालिकाले उक्त स्थानमा रहेको झण्डै डेढ सय रोपनी सार्वजनिक जग्गा धुलिखेल अस्पताललाई उपलव्ध गराउने निर्णय दशौं नगरसभाबाट गरिसकेको छ ।

अनुसन्धान केन्द्र स्थापना हुने ठाउँ धुलिखेलबाट १८ किमीको दुरीमा चयन गरिएको छ । केन्द्रले नेपाल तथा अन्तर्राष्ट्रियस्तरका अनुसन्धानहरुको नेतृत्व लिनेछ भने नेपालसहित विश्वभरका विशेषज्ञहरु यसमा संलग्न हुनेछन् । स्वास्थ्य अनुसन्धानमा आधारित स्नातकोत्तर तथा पिएचडी कार्यक्रमको लागि यो अगुवा केन्द्रको रुपमा विकास हुने बताइएको छ ।

अनुसन्धान केन्द्र निर्माणका विषयमा सोमबार धुलिखेल अस्पतालमा नगरपालिका, स्थानीयबासी र अस्पतालबीच छलफलसमेत सम्पन्न भएको छ । छलफलको क्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरलाई कृषि, स्वास्थ्य, शिक्षा र अनुसन्धानको केन्द्र बनाउने उद्देश्य रहेको र सोही अनुसार विभिन्न निकाय र संस्थासँग सहकार्य गर्दै अघि बढेको बताए । नगरपालिकाभित्र मदन भण्डारी विश्वविद्यालय, कानुन विश्वविद्यालय, स्टाफ कलेज, कृषि अनुसन्धान केन्द्र तथा युथ इनोभेसन सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको र अब स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनापछि नगरको पहिचान अझै बढ्ने तिमल्सिनाको भनाई थियो । नगरपालिकाले स्टाफ कलेज स्थापनाका लागि ९ सय रोपनी जग्गा उपलव्ध गराएर अहिले निर्माण प्रक्रिया अघि बढिसकेको छ भने वडा नं. ५ मा कृषि अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया समेत सुरु भइसकेको छ । उनले स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले विशेष पहल गरेको र सोहीअनुसार जग्गा उपलव्ध गराउने निर्णय भएको बताए ।

छलफलमा धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजुले केन्द्र स्थापनाका लागि जग्गा उपलव्ध गराएकोमा नगरपालिका, वडा कार्यालय तथा स्थानीयबासीप्रति आभार प्रकट गरे । धुलिखेल अस्पताल स्थापना गर्दा अहिलेको अवस्थामा आइपुग्ला भन्ने कल्पना कसैले नगरेको स्मरण गर्दै डा.माकजुले अनुसन्धान केन्द्र स्थापना पनि सुरुवाती चरण भएको र यहाँ हुने अध्ययन अनुसन्धानले भविश्यमा स्वास्थ्यको क्षेत्रमा ठूलो परिवर्तन ल्याउनसक्ने बताए । ‘कुनै पनि कुरा सुरुवात गर्न गाह्रो हुन्छ’ माकुजले भने, ‘सुरुवात गरेपछि अघि बढ्न गाह्रो हुँदैन ।’
यस्तै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. राजेन्द्र कोजुले शिक्षा, स्वास्थ्य, अनुसन्धान र सामूदायिक विकासमा धुलिखेल अस्पताल निरन्तर अघि बढेको र सोही क्रममा नमोबुद्धमा अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी भएको बताए । अनुसन्धान केन्द्रबाट तत्कालको फाइदा भन्दा पनि दीर्घकालिन योजना बनाएर अघि बढ्ने र यसले स्वास्थ्य र शिक्षाको क्षेत्रमा थप टेवा पुर्‍याउने डा. कोजुको भनाई थियो । छलफलमा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलव्ध गराउन चाँडै आवश्यक कानुनी प्रक्रिया पुरा गर्ने र केन्द्र स्थापना हुन लागेको ठाउँसम्मको सडक स्तरोन्नति लगायतका काम पनि धमाधम सुरु हुने बताए । नमोबुद्ध नगर र समग्र स्वास्थ्य क्षेत्रको उन्नतिका लागि सहकार्य गर्न तयार रहेको पौडेलको भनाई थियो ।
नमोबुद्ध नगरपालिका ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङले केन्द्र स्थापनाका लागि स्थानीयबासीसँगको सहमतिसँगै वडाबाट सर्वसम्मत निर्णय गरेर जग्गा उपलव्ध गराउन सिफारिस गरिएको र अन्य भौतिक पूर्वाधारको विकासका लागि नगर र वडा तत्पर रहेको बताए । उनले वडा न। ११ मा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुनु वडाबासीका लागि गौरवको विषय भएको र आफ्नै कार्यकालमा यो कार्य सुरु गर्न पाउँदा खुशी लागेको पनि बताए । स्थानीय सरोकारका विषयहरु केन्द्र स्थापनाको सम्झौता हुँदा समेटिने उनको अपेक्षा थियो ।

छलफलमा स्थानीय सुर्य तामाङ, ज्ञानवहादुर तामाङ, सुमना श्रेष्ठ लगायतले अनुसनधान केन्द्र स्थापना हुनु खुशीको विषय भएको बताउँदै यसले वडाको पहिचान अझै माथि उठ्ने र वडाको समग्र विकास एवं स्वास्थ्यको क्षेत्रमा आमुल परिवर्तन हुने अपेक्षा गरिएको बताए । छलफलमा धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजु, सामूदायिक कार्यक्रम निर्देशक डा। विराज कर्माचार्य लगायतले अनुसन्धान केन्द्र स्थापनाका विषयमा आफ्नो धारणा राखेका थिए ।
छलफलले एक महिनाभित्र जग्गा प्राप्तिको कानुनी प्रक्रिया तथा अन्य तयारी पुरा गरेर केन्द्र स्थापनाका लागि समझदारीपत्र (एमओय) मा हस्ताक्षर गर्ने निष्कर्ष निकालेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्